सुनसरी–१ का उम्मेदवार हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी

SLF KHABAR
सुनसरी–१ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी परेको छ।

श्रम संस्कृति पार्टीका अध्यक्षसमेत रहेका साम्पाङले चुनावी प्रचार–प्रसारका क्रममा बालबालिकाको प्रयोग गरेको आरोपमा उजुरी दर्ता गरिएको हो।

धरान नगर बाल सञ्जालले साम्पाङविरुद्ध जिल्ला प्रहरी कार्यालय तथा निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिएको जनाएको छ। उजुरीमा बालबालिका ऐन, २०७५ को परिच्छेद २, दफा ७ अनुसार बालबालिकालाई प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा राजनीतिक उद्देश्यका लागि प्रयोग गर्न नपाइने व्यवस्था रहेको उल्लेख गर्दै उक्त व्यवस्था उल्लंघन गरिएको दाबी गरिएको छ।

सञ्जालले साम्पाङलाई निर्वाचन अधिकृतको कार्यालयमा उपस्थित गराई यस विषयमा छलफल गर्न र आचारसंहिता उल्लंघन भए कानुनी कारबाही गर्न मागसमेत गरेको छ। निर्वाचन अधिकृत दिव्यराज घिमिरेका अनुसार प्रमुख निर्वाचन अधिकृतको संयोजकत्वमा उजुरी अध्ययन समिति गठन भइसकेको छ र समितिले अध्ययनपछि आवश्यक कारबाही प्रक्रिया अघि बढाउनेछ।

बालबालिकाको प्रयोग गरेको आरोप प्रमाणित भए एक लाख रुपैयाँसम्म जरिवाना र उम्मेदवारी दर्ता खारेज हुन सक्ने कानुनी व्यवस्था रहेको छ। आगामी फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन हुँदैछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *