जनमत पार्टी का प्रतिनिधिसभा उम्मेदवार सर्राफ यतिबेला निरन्तर घरदैलो तथा जनता दर्शन कार्यक्रम सञ्चालन गर्दै गाउँ–गाउँ पुगेर मतदातासँग प्रत्यक्ष संवादमा जुटेका छन्।
क्षेत्रका विभिन्न गाउँपालिका र वडाहरूमा पुगेर उनले स्थानीय जनताका समस्या सुन्नुका साथै आफ्ना प्रमुख चुनावी एजेन्डा प्रस्तुत गरिरहेका छन्। विशेष गरी परिवर्तन, युवा रोजगारी र समृद्ध पर्सा निर्माणलाई मुख्य प्राथमिकतामा राख्दै उनले मतदातालाई जनमतको ‘हर्न’ चुनाव चिन्हमा मतदान गर्न आग्रह गरिरहेका छन्। उनको सक्रिय अभियानले क्षेत्रमा व्यापक चर्चा र समर्थन बटुलिरहेको देखिन्छ।
युवा उद्यमी पृष्ठभूमिबाट आएका सर्राफले वीरगंजको स्थापित व्यवसाय छाडेर मातृभूमि पर्साको विकासका लागि राजनीतिमा होमिएको बताउँदै आएका छन्। विगत केही वर्षदेखि नै गाउँ–गाउँमा जनसम्पर्क विस्तार गर्दै आएका उनी यस पटक पार्टीबाट आधिकारिक उम्मेदवार बनेपछि झनै सक्रिय बनेका छन्।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा उनको घरदैलो अभियानले चुनावी माहौल थप तातेको छ। स्थानीय बासिन्दाले युवा नेतृत्व, रोजगारी सिर्जना, पूर्वाधार विकास, शिक्षा र स्वास्थ्य सुधारका एजेन्डालाई सकारात्मक रूपमा लिएका छन्। विभिन्न स्थानमा सामूहिक पार्टी प्रवेश कार्यक्रमसमेत भइरहेका छन्।
उम्मेदवार सर्राफ भन्छन्, “म भुइँमान्छेको आवाज बन्नेछु। क्षेत्रको अवस्था देखेर व्यवसाय छाडेर राजनीतिमा आएको हुँ। अब परिवर्तनको समय आएको छ—युवालाई रोजगारी दिने र समृद्ध पर्सा बनाउने मेरो मुख्य लक्ष्य हो।”