वीरगंजमा घरदैलो तीव्र : पर्सा–१ मा सरार्फको चुनावी अभियान सशक्त

SLF KHABAR
जनमत पार्टीका तर्फबाट पर्सा क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार ओमप्रकाश सरार्फले आफ्नो चुनावी प्रचारप्रसार अभियानलाई थप तीव्रता दिएका छन्।

उनले वीरगंज महानगरपालिका–२१ अन्तर्गत कुशवाहा टोल र तात्वा टोलमा व्यापक घरदैलो कार्यक्रम सम्पन्न गर्दै स्थानीय मतदातासँग प्रत्यक्ष संवाद गरेका छन्।

घरदैलोका क्रममा सरार्फले स्थानीय बासिन्दासँग भेटघाट गरी उनीहरूको समस्या, सुझाव र अपेक्षाबारे जानकारी लिए। स्थानीयवासीहरूले उनलाई स्वागत गर्दै दैनन्दिन जीवनसँग गाँसिएका आधारभूत समस्याहरू खुलेर राखेका थिए। विशेषगरी खानेपानीको चरम अभाव यहाँको मुख्य समस्या रहेको उनीहरूले बताएका छन्। नियमित तथा शुद्ध खानेपानी नहुँदा महिलाहरू र बालबालिकाले टाढाबाट पानी बोक्नुपर्ने बाध्यता रहेको गुनासो गरिएको छ। कतिपय स्थानमा हातेधारा बिग्रिएको र पाइपलाइन जडान भए पनि पानी नआउने समस्या रहेको बताइएको छ, जसका कारण स्वास्थ्यमा समेत नकारात्मक असर परेको स्थानीयको भनाइ छ।

शिक्षा क्षेत्रको अवस्था पनि सन्तोषजनक नरहेको गुनासो गरिएको छ। सरकारी विद्यालयमा शिक्षक अभाव, भौतिक पूर्वाधारको कमी तथा गुणस्तरीय शिक्षाको अभावले विद्यार्थी प्रभावित भएका छन्। आर्थिक रूपमा कमजोर परिवारले समेत छोराछोरीलाई निजी विद्यालयमा पठाउनुपर्ने बाध्यता रहेको अभिभावकहरूको भनाइ छ।

स्वास्थ्य सेवामा पनि पहुँच कमजोर रहेको स्थानीयले बताएका छन्। नजिकै सुविधा सम्पन्न स्वास्थ्य संस्था नहुँदा सामान्य उपचारका लागि समेत वीरगंज बजार धाउनुपर्ने अवस्था छ। आकस्मिक बिरामी पर्दा यातायात र खर्चको अभावले थप समस्या हुने गरेको गुनासो गरिएको छ। स्वास्थ्य चौकीमा आवश्यक औषधि, उपकरण तथा जनशक्तिको अभाव रहेको उनीहरूको भनाइ छ।

कृषि क्षेत्रका समस्याहरू पनि स्थानीय किसानहरूले उठाएका छन्। पर्याप्त सिँचाइ सुविधा नहुँदा उत्पादनमा असर परेको, मलखाद र बिउबिजन अभाव तथा उत्पादनको उचित मूल्य नपाउने समस्या रहेको गुनासो गरिएको छ। बजार व्यवस्थापन कमजोर हुँदा किसान निराश बनेको धारणा व्यक्त गरिएको छ। कृषि क्षेत्र सुदृढ गर्न दीर्घकालीन र किसानमैत्री योजना आवश्यक रहेको उनीहरूले जोड दिएका छन्।

स्थानीयका गुनासा सुनेपछि उम्मेदवार सरार्फले विकासको मूल आधार स्थानीय आवश्यकता र जनसहभागिता भएको उल्लेख गरे। उनले खानेपानी, शिक्षा, स्वास्थ्य र कृषि जस्ता आधारभूत क्षेत्रलाई प्राथमिकतामा राखेर योजनाबद्ध रूपमा काम गर्ने प्रतिबद्धता व्यक्त गरे। साथै, युवाका लागि रोजगारी सिर्जना, किसानमैत्री नीति र सामाजिक न्याय सुदृढ गर्ने एजेन्डा आफ्नो मुख्य प्राथमिकतामा रहेको बताए।

“जनताको विश्वास र साथ पाएर संसदमा पुगेपछि यहाँका समस्याको दीर्घकालीन र दिगो समाधानका लागि पहल गर्नेछु,” उनले भने।

घरदैलो अभियानमा महिला टोलीसमेत परिचालन गरिएको जनाइएको छ। स्थानीय मतदाताले उम्मेदवारसँग प्रत्यक्ष संवाद गर्न पाउँदा खुसी व्यक्त गर्दै विगतमा आश्वासन मात्र पाएको तर कार्यान्वयन कमजोर रहेको गुनासो दोहोर्‍याएका छन्।

यसपटक परिणाममुखी काम गर्ने नेतृत्वलाई समर्थन गर्ने उनीहरूको भनाइ छ। पर्सा क्षेत्र नं. १ मा सरार्फको अभियान दिनप्रतिदिन सशक्त बन्दै गएको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *